प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न देशमा पछिल्लो समय विकास र समृद्धिको लक्ष्यका साथ धेरै राम्रा कामहरु भइरहेकाे बताउनुभएकाे छ ।
नेपाल टेलिभिजनको ३५औं बार्षिकोत्सव तथा इटहरी च्यानलको उद्घाटनका अवसरमा उहाँले मुलुकमा अभूतपूर्व विकास भइरहेकाे जिकीर गर्नुभयाे ।
प्रधानमन्त्री ओलीले मुलुकमा वर्तमान सरकारले गरेका अभूतपूर्व विकासलाई आमसञ्चारका माध्यम मार्फत् जनतामाझ पुग्न नसकेकाे गुनासाे गर्नुभयाे । उहाँले सरकारले गरेका राम्रा कामलाइ अझै राम्ररी जनतासमक्ष पुर्याउन जरुरी रहेकाे बताउनुभयाे ।
प्रधानमन्त्रीले गर्नुभएकाे सम्बाेधन
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष
माननीय मन्त्रीज्यूहरु
माननीयज्यूहरु
कार्यक्रमका अतिथि वर्ग एवं सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु !
सबैभन्दा पहिले म नेपालको पहिलो टेलिभिजन प्रसारण संस्था नेपाल टेलिभिजनको ३५औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजन परिवार र यसका आमदर्शकहरुमा हार्दिक बधाई दिन चाहन्छु । साथै, यस प्रशारण केन्द्रको अझ उन्नति र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
३५औं वार्षिकोत्सवकै अवसरमा नेपाल टेलिभिजनको पाँचौ संस्करणका रुपमा नेपाल टेलिभिजन इटहरी च्यानलको प्रसारण शुभारम्भ गर्ने अवसर मिलेको छ । यस च्यानलले अत्याधुनिक प्रविधिसहित आफ्नै भवनबाट फुल एचडीमा स्याटेलाइटमाध्यमबाट समेत प्रसारण थालनी गरेको पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । लामो समयदेखि अल्झिएको यस परियोजनालाई नयाँ व्यवस्थापनले सरकारको निर्देशनमा रहेर तदारुकताका साथ सम्पन्न गर्नु हरेक दिन एक कदम अगाडि भन्ने सरकारको लक्षतर्फको ठोस उपलब्धि हो । यस उपलब्धिका लागि जजसले योगदान गर्नुभएको छ, उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । यस अवसरमा म यो भवन बनाउन निःशुल्क जग्गादान गर्ने चौधरी परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काख र नेपालकै होचो भूभाग केचनाकवलको आडमा रहेको प्रदेश नं १ भनेको प्राकृतिक, सांस्कृतिक, धार्मिक र आर्थिक–सामाजिक रुपमा अत्यन्तै समुन्नत छ । उर्बर जमिन र औद्योगिक शहरका रुपमा यस क्षेत्रमा नेपालको समृद्धि र नेपालीको सुखका प्रशस्त आधारहरु छन् । मलाई विश्वास छ, मेरो आफ्नो जन्मस्थल र निर्वाचन क्षेत्रसमेत रहेको यस प्रदेशको इटहरी एउटा उदीयमान शहर र यहाँबाट प्रसारण हुने एनटीभी इटहरीले सिंगो प्रदेशको विशिष्ठतालाई उजागर गर्ने छ र सिंगो राष्ट्रको विकास र समृद्धिमा योगदान पु¥याउने छ ।
मलाई यतिबेला नेपाल टेलिभिजनको ३४औं वार्षिकोत्सवको अवसरमा उपस्थित भएर गत वर्ष एचडी प्रसारणको शुभारम्भ गरेको स्मरण भइरहेको छ । नेपाल टेलिभिजनले प्रविधिमा गरेको रुपान्तरण र नयाँ प्रयोगपछि यसको समाचार र कार्यक्रममा पनि समयानुकूल परिवर्तन भएर देश र जनताको पक्षमा गरेको सकारात्मक योगदानको म प्रशंसा गर्न चाहन्छु ।
समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न देशमा पछिल्लो समय विकास र समृद्धिको लक्ष्यका साथ धेरै राम्रा कामहरु भइरहेका छन् । तर, अभूतपूर्व विकासलाई आमसञ्चारका माध्यमले अझै राम्ररी जनतासमक्ष पु¥याउन जरुरी छ । हामीले त्यो काम अझै राम्ररी सम्पन्न गर्न सकेका छैनौं ।
देशमा आशाको सञ्चार गराउने काम पनि वास्तवमा मिडियाको हो । हामीले साधारयातया भन्ने हो भने पनि जनतालाई निराश हुन दिनु हुँदैन । जनताको मनोबल र आत्मविश्वास टुट्न दिनु हुँदैन । त्यसमा पनि जब देशमा राजनीतिक आन्दोलनले एउटा नयाँ मोड लिएर, सफलता प्राप्त गरेर, अगाडि बढेर संविधान निर्माण लगायतका कामहरु सम्पन्न भइसकेका छन्, निर्वाचन भइसकेको छ, स्थिरता कायम भइसकेको छ ।
सुशासन र विकासको बाटोमा देश तीव्र गतिमा अग्रसर भइरहेको छ भने यस्तो बेलामा झन् जनताको मनोवल हाम्रो देश हामी बनाउन सक्छौं, विकास गर्न सक्छौं भनेर उठाउन जरुरी छ । यस्तो बेलामा हामीले जनतामा नकारात्मक कुरा मात्रै पस्किने अथवा निराशातर्फ जनतालाई धकेल्ने खालका कुरा होइन, आशावादिता र आत्मविश्वास जगाउने काम गर्न जरुरी छ । नेपाल टेलिभिजन यस दायित्वबोधका साथ सकारात्मक रुपमा अघि बढेर अरुलाई पनि दृष्टान्त प्रस्तुत गर्न सक्षम हुनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा अझै बढी योगदानको खाँचो छ भन्ने मलाई लाग्छ ।
सरकारले विगत दुई बर्षमा धेरै महत्वपूर्ण काम गरेको छ । यो कुरा जनतालाई सूसूचित गर्ने जिम्मेवारी मूलतः संचार क्षेत्रको नै रहेको कुरामा म सबैसमक्ष आग्रह गर्दछु । तथ्यको आधारमा जनता सत्यमा पुग्न पाउनु संविधान र कानूनबमोजिम प्राप्त र व्यवस्था गरिएको नैसर्गिक मौलिक अधिकार हो । आग्रह, पूर्वाग्रह र दूराग्रहबाट मुक्त भई उत्तरदायी भूमिका निर्वाह गरेर मात्र नेपाली आमसंचार क्षेत्रले जनताप्रतिको आफ्नो जिम्मेवारी सहीढंगले पूरा गर्न सक्छन् भन्ने तथ्य हामी सबैले बुझ्न जरुरी छ । नकारात्मकता र पूर्वाग्रहमुक्त वाचडगका रुपमा स्वतन्त्र, निष्पक्ष र तटस्थ विचार र समाचार संप्रेषणमार्फत नैसंचार माध्यमले यो भूमिका निर्वाह गर्न सक्दछन् ।
सरकारले संचार र सूचना प्रविधिको क्षेत्रमा उच्च महत्वका साथ कार्य गरिरहेको छ । डिजिटल नेपालको परिकल्पनालाई सार्थक बनाउने गरी विभिन्न कार्यक्रमहरु अघि बढिरहेका छन् । विभिन्न नयाँ कानूनी प्रबन्धहरु मिलाउने काम पनि भइरहेका छन् । विज्ञापन ऐन बनिसकेको छ । मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक सार्वभौम संसदमा विचाराधीन अवस्थामा रहेका छन् । मलाई विश्वास छ, संसदको हिउँदे अधिवेशनबाट ती पारित हुनेछन् अर्थात् यसै अधिवेशनबाट अब केही दिनभित्र ती पारित हुनेछन् । र, नेपालको संचार क्षेत्र युगानूकूलका कानूनी संरक्षण र व्यवस्थाका साथ सबल ढंगले अगाडि बढ्न अझै बढी सामथ्र्यवान् हुनेछ ।
म सबैलाई आग्रह र अनुरोध गर्न चाहन्छु, यस्ता सबै कानून जनता र राष्ट्रको अपेक्षा र चाहनाबमोजिम नै तर्जुमा हुनेछन् । संविधान, कानून र हाम्रो निष्ठा एवं आदर्शअनुरुप नै बन्ने छन् । यसमा अनावश्यक विवाद र प्रश्न गर्नुपर्ने कुनै अवस्था नरहेको कुरा पनि म स्पष्ट गर्न चाहन्छु । नागरिक समाज र यस क्षेत्रका हरेक जायज सरोकार र मागहरुलाई जनताको सरकार भएको हैसियतमा वर्तमान सरकारले गंभीरतापूर्वक सुन्न, ग्रहण गर्न र संबोधन गरेर अघि बढ्नसदैव तत्पर रहेको कुरा पनि म सबैलाई अवगत गराउन चाहन्छु । यसमा कुनै प्रकारको आशंका र द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।
कतिले लोकतन्त्रलाई संकुचित गर्न खोजेको, कतिले देशलाई तानाशाहीकरणतर्फ लैजाान खोजेको, कतिले प्रेसलाई अधिकारबाट सीमित गर्न खोजेको, कतिले वाक् स्वतन्त्रता वा अभिव्यक्तिका स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेकोजस्ता निरर्थक अर्थहरु लगायर अहिले चर्चा–परिचर्चा गरिरहेका छन् । हामी लोकतन्त्रका लागि लडेका हौं । लोकतन्त्र भनेको एउटा आधुनिक, व्यवस्थित, अनुशासित र अधिकारसम्पन्न व्यवस्था हो । एउटाको अधिकार प्रयोग गरिरहँदा अरुका अधिकारको हनन् नहुोस् भन्ने कुरामा हामी सजग रहनु पर्दछ । तब मात्रै हामी सभ्य र जिम्मेवार समाज निर्माण गर्न सक्दछौं ।
हामीले चाहेको जथाभावीको अवस्था होइन, समाज सभ्य र सुसंस्कृत हुन सकोस् । समाजमा वैरभाव, कलह होइन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने दृढ भावना जागृत हुन सकोस्, हामीले चाहेका कुराहरु यिनै हुन् । हामी पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका लागि सधै चिन्तित छौं र सरकार त्यसका निम्ति प्रतिबद्ध छ । म यस अवसरमा यो कुरा फेरि पनि स्पष्ट गर्न चाहन्छु ।
कुनै अधिकारमा बन्देज, अंकुश र सीमितता हुँदैन । खालि संविधान र कानूनको मार्गबाट हामी अगाडि जानुपर्छ र एउटा सभ्य समाज निर्माण गर्नुपर्छ । उत्तरदायी समाज निर्माण गर्नुपर्छ र संचार माध्यमहरु देश र जनताप्रति, संविधान र कानूनप्रति, आफ्ना कर्तव्यर अधिकारप्रति निष्ठावान पनि हुन सकुन् । यस दिशातर्फ अघि बढ्न आग्रह मात्रै हो । यो व्यक्ति–व्यक्तिको मात्रै कुरा होइन । समाज कस्तो बनाउने ? यो भावावेशको मात्रै कुरा होइन । खासमा समाज कस्तो बनाउने ? गैरजिम्मेवार वा जिम्मेवार ? अनुशासित वा अनुशासनबिहीन ?
हामी राष्ट्रलाई एउटा समृद्ध र आधुनिक राष्ट्र बनाउन चाहन्छौं । अरुलाई दुःख दिएर, अरुको मानहानी गरेर, अरुको तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक वा व्यवसायिक हितहरुमा अनधिकृत हस्तक्षेप वा व्यवधान पैदा गरेर वा क्षति पु¥याएर देशको समृद्धि हुने होइन ।
मानवअधिकार र मौलिक हक सबैका निम्ति व्यवस्था गरिएको हो । यी कुराहरुलाई ध्यानमा राखेर नै आजको हाम्रो लोकतन्त्र सुदृढ हुन्छ र अगाडि बढ्न सक्छ । यस दिशामा हामी सबैको ध्यान जान जरुरी छ भन्ने म यस अवसरमा आग्रह गर्न चाहन्छु ।
अन्त्यमा, म नेपाल टेलिभिजनको भूमिका अझ प्रभावकारी हुन सकोस् अगामी दिनमा यो अझै सफल हुँदै जाओस्, यसले नेपाल राष्ट्र र नेपाली जनताको अधिकतम् सेवा गर्न सकोस् । सूचना, शिक्षा, मनोरञ्जन सबै हिसाबले यसले आफ्नो महान योगदान गर्दै जान सकोस् र यो नेपाली जनताको बीचमा र सर्वत्र लोकप्रिय संचार माध्यमका रुपमा स्थापना हुन सकोस् । यस ३५औं वार्षिकोत्सवका अवसरमा म नेपाल टेलिभिजन परिवारप्रति धन्यवाद भन्न चाहन्छु र नेपाल टेलिभिजनलाई यस स्थितिमा पु¥याउने र आज इटहरीबाट समेत प्रसारण शुरुवात गर्ने स्थितिमा तीब्रताका साथ काम गरेर ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना, धेरैधेरै धन्यवाद ।
धन्यवाद ।
१७ माघ २०७६

