अस्थिरता निम्त्याउने प्रयास भयाेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरताका प्रयासहरु भएको बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिदैं प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने खेल भएकाे बताउनुभएकाे हाे ।

सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्नसक्ने श्रमजीवी वर्ग नै भएको प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमकाे समेत आलाेचना गर्नुभएकाे छ । उहाँले शुभकामना दिदैं भन्नुभएकाे छ, ‘आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ। एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो।’

कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको प्रधानमन्त्रीकाे सन्देशमा भनिएकाे छ ।

दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीति अन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताउनुभएकाे छ ।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ  भन्दै प्रधानमन्त्रीले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले कमीकमजोरी भए अनुशासित भएर सुधार्नुपर्ने तर अराजक बन्र नहुने बताउनुभयाे ।

Facebook Comments