नेकपाकाे स्थायी कमिटी बैठक स्थगित
शनिबार बस्ने भनिएकाे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक दुइ अध्यक्षवीचकाे छलफल नटुंगिएकाले स्थगित गरिएको हो।
पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको नेता जनार्दन शर्माले जानकारी दिनुभयाे ।
बैठक स्थगित गरी थप छलफल गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएकाे बुझिएकाे छ ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्यशैलीका बिषयमा चरम विवाद उत्पन्न भएकाे छ । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बहुमत सचिवालय र स्थायी कमिटीका सदस्यहरूकाे माग रहेकाे छ ।
अव स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको छ।

