रिक्त सांसदमा सुवर्ण ज्वारचनलाई पठाउने कांग्रेसकाे निर्णय
नेपाली काँग्रेसले रिक्त रहेकाे प्रतिनिधि सभा सदस्यमा गुल्मीकी सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेकाे छ ।
साेमबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको हाे ।
बागलुङकी घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो। रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने सोमबारको बैठकले निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयाे ।
काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ।
सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।
यसअघि ज्वारचन बाणिज्य राज्यमन्त्री बन्नुभएकाे थियाे ।

