काेराेना संक्रमितकाे संख्या ३७ सय नाघ्याे
नेपालमा काेरना भाइरस(काेभिड- १९)बाट संक्रमित हुनेकाे संख्या ३७ सय नाघेकाे छ ।
साेमबार मात्रै थप ३ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।
याेसँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे ।
पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । हालसम्म कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।
हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।
सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
प्रवक्ता गौतमका अनुसार स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको हाे । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

