अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन सक्दैनः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन नसक्ने बताउनुभएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै सभामुख सापकाेटाले संसद सञ्चालनका लागि सहयोग गर्न कांग्रेसलाइ आग्रह गर्नुभयाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले लगातार संसदमा अवराेध गर्दै आएकाे छ ।

सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गर्न नहुने बताउनुभयाे ।

‘यो विषय अदालतमा गइसकेको छ । यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वत स्पष्ट छ’ सापकाेटाले भन्नुभयाे, ‘यो सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईहरुले राख्नु पनि भएको छ । एउटा सन्देश गइ पनि सकेको छ ।’

जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सभामुख सापकोटाले कांग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाव दिए ।

सभामुख सापकोटाले आइतबार कांग्रेस सांसदहरुलाई बोल्न समय पनि नदिएपछि पनि उनीहरू संसद बैठकमा बाेलिरहेका थिए ।

नेकपा सचेतक शान्ता चौधरीले पनि बोल्न समय मागेपनि सभामुखले समय नदिएपछि बाेल्न पाउनुभएन । बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएकाे छ ।

Facebook Comments