इटालीमा कोभिड–१९ कोरोना भाइरसकाे संक्रमण तीब्र

युरोपेली राष्ट्र इटालीमा कोभिड–१९ कोरोना भाइरस तीब्र गतिमा फैलिएको छ।

यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर अन्य मुलुकको तुलनामा इटालीमा उच्च देखिएको छ।

काेराेनाकाे संक्रमण बढेपछि इटाललीले सबै नागरिकलाइ घरभित्रै रहन अपिल गरेकाे छ ।

सबै सार्वजनिक कार्यक्रमहरू रद्द गरिएका छन् । शैक्षिक संस्थाहरू, खेलका कार्यक्रमहरू सबै स्थगित गरिएका छन् ।

अत्यावश्यक काममा समेत सरकारी निकायबाट यात्रा अनुमति लिनुपर्ने ब्यवस्था गरिएकाे छ ।

 इटालीमा मात्रै एकैदिनमा थप एक सयले ज्यान गुमाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ। सोमबार मात्रै थप १ सयले ज्यान गुमाएका हुन्।  

यस भाइरसको संक्रमण र मृत्युको आँकडामा चीनपछि इटाली दोस्रो स्थानमा देखिएको छ। सोमबारसम्म चीनपछि संक्रमितको संख्या दक्षिण कोरियामा बढी देखिएकोमा मंगलबार इटाली अगाडी आएको हो। 

इटालीमा हालसम्म ९ हजार १ सयभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ। दक्षिण कोरियामा करिब साँढे ७ हजार संक्रमित देखिएका छन्। पछिल्लो जानकारी अनुसार कोरियामा यस भाइरसका कारण ५३ जनाले ज्यान गुमाएका छन्। इरानमा पनि  कोभिड–१९ भाइरस तीब्र गतिमा फैलिएको छ। करिब ७ हजार १ सय संक्रमित देखिएका छन् भने मंगलार बिहानसम्म २३७ जनाको मृत्यु भइसकेको छ। 

यस भाइरस सुरु भएको चीनमा ३१ सय भन्दा बढीको मृत्यु भएको छ। करिब ८० हजार संक्रमित देखिएका छन्। पछिल्ला दिनमा मृत्यु दरमा नियन्त्रण गर्न चीन सफल देखिएको छ। सोमबार चीनमा थप १७ जनाको मृत्यु भएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ। 

विभिन्न मुलुकहरूले कोभिड–१९ भाइरस तीब्र गतिमा फैलिएपछि सभा, समारोहमा भाग लिन रोक लगाइएका छन् भने अत्यावश्यक भएमात्र यात्रा गर्न भनेका छन् ।

Facebook Comments