हतारमा निर्णय लिने पक्षमा छैनाैंः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा देखिएको विवादकाे सम्बन्धमा हतारमा कुनै निर्णय नहुने बताउनुभएकाे छ ।
गृहजिल्ला चितवनकाे माडीमा भएकाे एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी विवाद समाधानका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनुभएकाे हाे ।
पार्टीमा रहेका मतभेद संवादबाट नै हल गरी देश र पार्टी दुर्घटना हुन नदिने पक्षमा आफू रहेकाे समेत वहाँकाे भनाइ थियाे ।
पार्टी एकतालाई कसैले कमजोर पार्न नहुने भन्दै प्रचण्डले भन्नुभयाे, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धैर्यतापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’
कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उहाँको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उहाँले भन्नुभयाे ।
प्रचण्डले भन्नुभयो, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।
उहाँले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गर्नुभयो ।
पछिल्लो समय नेकपामा बहुमत सचिवालय सदस्य तथा स्थायी कमिटीका सदस्यहरूले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दबाब दिएका थिए । तर ओलीले दुबै पद नछाड्ने अडान लिएपछि नेकपा फुट्न सक्ने अडकलबाजी गरिएकाे थियाे ।
यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि शुक्रबार देशबासीका नाममा सम्बाेधन गर्दै पार्टीभित्रकाे विवाद छलफलबाटै टुंगिने बताउनुभएकाे थियाे ।

