नेपालमा ५ हजारकाे काेराेना भाइरस परीक्षण, १२ मा पाेजेटिभ
नेपालमा हालसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । गएकाे २४ घण्टामा ७ सय ९५ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले ५ हजार १ सय ८४ जनाकाे परीक्षण भएकाे जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म ४ हजार २० नमुना परीक्षण भएको छ भने उपत्यकाबाहिर १ हजार १सय ६४ नमुना परीक्षण गरिएको हाे ।
त्यस्तै उहाँले आइसोलेसनमा देशभरी ८५ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९७३ जना रहेकाे जानकारी पनि दिनुभयाे ।
आरडीटीबाट गरिने परीक्षण हालसम्म ३ हजार ३२१ जनाको भइसकेको छ ।
यसैवीच आइतबार ३ जना थप कोरोना संक्रमित भेटिएसँगै लकडाउनलाइ पालना गरी घरमा नै बसिदिन समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाले मन्त्रालयले परीक्षणको दायरा बढाइरहेको बताउँदै घरमै बसेर सहयाेग गरिदिन अनुराेध गर्नुभएकाे हाे ।
यसअघि शनिबार चैत २२ गते सुदूपश्चिममा ३ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै पर्साको वीरगन्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएको जनाएको थियो । उनीहरु तीनै जना भारतीय नागरिक रहेकाे बताइएकाे छ ।
उनीहरुलाई हाल विरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संक्रमित तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिएकाे छ ।

