आज नेपाली नयाँ बर्ष
नेपाली पात्रो अनुसार आजबाट नयाँ बर्ष प्रारम्भ भएको छ । विक्रम सम्बत् २०७७ प्रारम्भ भएको हो ।
यस बर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम विना नै नयाँ बर्षको स्वागत गर्नुपर्ने भएको छ ।
यसअघिका बर्षहरुमा विभिन्न मेला समारोह आयोजना गरेर नयाँ बर्ष मनाउने प्रचलन रहेको थियो ।
तर विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण यसबर्ष हर्षोल्लास विना नै नयाँ बर्ष मनाउनुपर्ने बाध्यतामा हामी रहेका छौं ।
आजको दिनमा सामाजिक सञ्जाल, फोनमा शुभकामना सन्देश साटासाट गर्ने क्रम भने चलिरहेको छ ।
विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् ।
कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

