काेराेना भाइरस विरूद्धकाे संघर्षमा सफलता मिलाेस्ः नेकपा अध्यक्ष प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षका अवसरमा मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।
प्रचण्डले सन्देशमा नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलता सहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएकाे छ ।
प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न अपिल गर्नुभएकाे छ ।
प्रचण्डले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
लकडाउन र सामाजिक दूरी कायम गरेमा मात्र काेराेना भाइरसकाे महामारी फैलनबाट राेक्न सकिने भएकाले साेका लागि तयार हुन उहाँले अपिल गर्नुभएकाे छ ।

