दाेस्राे काेराेना संक्रमित उपचारपछि घर फिर्ता
नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किनुभएकाे छ ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्कनुभएकाे हाे ।
आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिनुभएकाे छ ।
काठमाडौं घर भएकी युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकाे र सँगै यात्रा गर्ने भियतनामी साथीमा काेराेना संक्रमण पुष्टी भएपछि स्वास्थ्य जाँच गराउँदा काेराेना पुष्टी भएकाे थियाे ।
युवती सवार कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
नेपालमा हालसम्म ३० जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । काेराेना पुष्टी भएकामध्ये उदयपुर र पर्सामा जमातीका लागि आएका १५ जना भारतीय रहेका छन् । बाँकी १४ जना विदेशबाट आएका नेपाली रहेका छन् भने धनगढीका एक जना महिलामा भने संक्रमित आफन्तबाट काेराेना भाइरस संक्रमण सरेकाे थियाे ।
संक्रमित २ जना उपचारपछि घर फर्केकाेमा बाँकी १३ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

