अलपत्र मजदुरकाे ब्यवस्थापन गर्न काँग्रेसकाे माग
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लकडाउनका कारण खाने बस्ने समस्या भएपछि पैदल नै घरतर्फ हिडेका मजदुरहरूलाइ सुरक्षित रूपमा जाने वातावरणा मिलाउन माग गरेकाे छ ।
साथै राहत वितरणका लागि सर्वदलीय समिति बनाउन समेत सरकारसँग काँग्रेसले माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको हो ।
बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले, ‘विभिन्न जिल्लाबाट राहत वितरणमा पक्षपात भएकाे सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको छ ।’
उहाँका अनुसार बैठकमा लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदाय लगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइ बारेमा पनि छलफल भएको थियाे ।
ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बस्नका लागि चरम समस्या परेकाले नै ८- १० दिन हिँडेर काठमाडौं लगायतका स्थानबाट टाढा टाढासम्म पैदल यात्रा गनुपर्ने बाध्यता आएको काँग्रेसको बैठकले निष्कर्ष निकालेकाे छ ।
सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्नुपर्ने काँग्रेसले माग गरेको छ ।
विदेशमा अलपत्र नागरिक, भारतीय सीमामा नेपालतर्फ प्रवेशका लागि प्रतिक्षा गरिरहेका नागरिककाे उचित व्यवस्थापनका साथै काराेना भाइरस संक्रमणकाे परीक्षणका लागि दायरा बढाउन समेत काँग्रेसले सरकारसँग माग गरेकाे छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक दोस्रो पटक बसेको हो ।
यसअघि चैत २५ गते पहिलोपटक पदाधिकारी बैठक बसेको थियो । विहान ९ बजेदेखि बसेको बैठक दिउँसो १२ बजे सम्पन्न भएको थियो ।
बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेलकाे उपस्थित रहेकाे थियाे ।

