सभामुख चयन माघ १२ गते हुने

प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधिसभाको साेमबार बसेकाे बैठकमा अध्यक्षता गर्नुभएका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति ताेक्नुभएकाे हाे ।

त्यसअघि साेमबार नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएकाे थियाे ।

सत्तारूढ दलले सभामुख लिने भन्दै उम्मेदवार तय गरेपछि उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएकाे हाे ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक ब्यवस्था रहेकाे छ ।

नेकपाले स्थायी समिति सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।

बलात्कार प्रकरणमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सभामुख पद रिक्त थियो।

निर्वाचन प्रक्रिय अनुसार मंगलबार माघ ७ गते प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यसूची छ ।

माघ १२ गते प्रतिनिधि सभा नियमावली,२०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

Facebook Comments