सांसद विन्दु थापाद्वारा आफ्नो सेवा सुविधाको रकम सामाजिक कार्यमा

कास्की क्षेत्रनं २ (२)का प्रदेश सांसद विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा सहयोग गर्नुभएको छ ।

उहाँले बुधबार पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले निर्वाचित भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरेअनुरुप यस वर्ष पनि विभिन्न सामाजिक कार्यमा सेवा सुविधाबापतको रकम खर्च गरेको बताउनुभयो ।

कास्कीका विभिन्न सामुदायिक भवन निर्माण, खेलकूद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई रकम प्रदान गरेको उहाँको भनाई छ ।

२०७५ फागुन १ गतेदेखि २०७६ पुस मसान्तसम्म प्रदेशसभाका बैठक भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधाबापत प्रदेशसभाबाट ६ लाख १० हजार ६२९ बैंक खातामा जम्मा भएको जानकारी दिँदै उहाँले उक्त रकममा केही थप गरी रु ९ लाख ३ हजार ७०१ सामाजिक काममा सहयोग गरेको जानकारी दिनुभयो ।

सांसद थापाले प्रतिपक्षी दलका सांसदले राखेका जायज माग सरकारले सुन्न नचाहने गरेको बताउँदैे आफू निर्वा्चित भएको क्षेत्रमा सरकारले विकास निर्माणमा विभेद गरेको आरोप लगाउनुभयो ।

प्रदेश सरकारले यस बर्ष आफ्नो निर्वाचन क्षेत्रमा एउटापनि योजना नपारेको बताउनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेटलाई आफूले समानुपातिक ढङ्गबाट विनियोजन गरेको उहाँको भनाई थियो ।

थापाले सरकारले सांसदलाई बजेट दिन नहुने बताउनुभयो । सांसद नीति निर्माण गर्न जाने भएपनि नेकपाका सांसदको योजनामा बजेट दिने आफ्नोमा नदिने गरेको भन्दै मुख्यमन्त्रीको कार्यालय घेर्नपनि आफुहरु बाध्यहुने उहाँको भनाई थियो ।

Facebook Comments