थप २० जनामा काेराेना संक्रमण

नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। याेसँगै नेपालमा संक्रमितकाे कूल संख्या ५ सय ७ जना पुगेकाे छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुरा पर्शुराम-१० का २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा संक्रमण देखिएको हो।

मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कन्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ। शुक्रबार बिहानै ३० जना संक्रमित थपिएका थिए।

नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण ३ जनाकाे मृत्यु भएकाे छ भने ७० जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा फेला परेका संक्रमितमध्ये धेरैजसाे छिमेकी मुलुक भारतबाट लकडाउनकाे अवधिमा फर्केकाहरू रहेका छन् ।

Facebook Comments