काेराेना भाइरस संक्रमितकाे उपचार खर्च प्रदेश सरकारले गर्ने
गण्डकी प्रदेश सरकारले काेराेना भाइरसबाट संक्रमित भएकाहरूकाे उपचार खर्च बेहाेर्ने भएकाे छ ।
साथै गण्डकी प्रदेशमा पाेखरा महानगरपालिकाकाे लेखनाथमा रहेकाे लेखनाथ सामुदायिक अस्पताल काेराेना भाइरस संक्रमितहरूकाे उपचारका लागि ताेकिएकाे छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि गण्डकी प्रदेशको निर्णयहरू:
1. कोरोना भाइरस (COVID -19) संक्रमितहरुको उपचारको लागि डेडीकेटेड अस्पतालका रूपमा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई तोक्ने र सो को लागि आवश्यक बजेट प्रदेश सरकारले तुरुन्त उपलब्ध गराउने । सो को व्यवस्थापनका लागि आवश्यक भेन्टिलेटर, बेड लगायतका औजार, उपकरणहरू प्रदेश भरि रहेका सरकारी, निजि र सामुदायिक अस्पतालबाट आ-आफ्नो क्षमता अनुसार तत्काल उपलब्ध गराउने । उक्त अस्पतालबाट उपचार गरिएका विरामीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने ।
2. कोरोना भाइरस (COVID -19) संक्रमितहरुको उपचारको लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, पोखरालाई बैकल्पिक अस्पतालको रुपमा तोक्ने । नेपाली सेनाको अस्पताल र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताललाई बैकल्पिक डेडीकेटेड अस्पतालका रूपमा प्रयोग गर्न प्रदेश सरकार मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने । सो को लागि लाग्ने आवश्यक खर्च प्रदेश सरकारलाई प्रस्ताव गर्ने ।
3. प्रदेश भित्रका ५० शैया भन्दा माथीका सरकारी, निजि र सामुदायिक अस्पतालले कोरोना भाइरस (COVID -19) संक्रमितहरुको उपचारको लागि सम्पर्क व्यक्ति तोकी कम्तिमा १० जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको जनशक्तिको नामावली ३ दिन भित्र कर्मचारी व्यवस्थापन समितिका संयोजकलाई उपलब्ध गराउने ।
4. कोरोना भाइरस रोग (COVID -19) रोकथाम तथा नियन्त्रणको लागि “मुख्यमन्त्री आपतकालीन कोष” तत्काल खडा गरी संचालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने र सो कोषमा अन्य संघ-संस्था र व्यक्तिबाट समेत रकम जम्मा गर्न आव्हान गर्ने ।प्रदेश विपद व्यवस्थापन कोषको रकम समेत यस कार्यमा उपयोग गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने ।
5. कृषि तालिम केन्द्र, मालेपाटन, पोखरालाई आवश्यक सामग्री सहित क्वारेन्टाइन होमको रूपमा २४ घण्टा भित्र तयार गरिसक्ने, आवश्यक बजेटको प्रवन्ध तत्काल विनियोजित बजेटबाट सामाजिक विकास मन्त्रालयले गर्ने।
6. प्रदेशमा संचालनमा रहेका ५० शैया भन्दा माथीका निजी, सरकारी र सामुदायिक अस्पतालले आफ्नो क्षमताका आधारमा भेन्टिलेटर, बेड लगायत आवश्यक औजार, उपकरण र अन्य सामग्री अनिवार्य रूपमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने ।
7. हाललाई प्रदेश भित्रका निजी, सरकारी र सामुदायिक अस्पतालमा आकस्मिक(Emergency) र ज्वरो क्लिनिक (Fever Clinic) अनिवार्य रूपमा संचालन गर्ने र ओ.पी.डी. सेवा बन्द गर्ने । उक्त अस्पतालहरूले कम्तिमा ५० थान PPE तयारी अवस्थामा अनिवार्य राख्ने ।
8. विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरस (COVID -19) संक्रमणलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरी नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखी विशेष परिस्थितिको अवस्था सिर्जना भएकोले कोरोना भाइरस रोग (COVID -19) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि विनियोजित बजेट रकम खर्च गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद गर्न आवश्यक व्यवस्था मिलाउने ।
9. प्रदेशका हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला समेतको बजार अनुगमन तथा नियमन समिति गठन गरी अनुगमन कार्यलाई प्रभावकारी बनाई दैनिक उपभोग्य लगायत अन्य अत्यावश्यक वस्तु र सेवाको आपूर्तीलाई चुस्त-दुरुस्त बनाउने ।बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सृजना गर्ने, जम्माखोरी, कालोबजारी तथा मिसावट गर्ने, गराउनेलाई प्रचलित कानून बमोजिम तत्काल कडा कारबाही गर्ने ।
10. आपूर्ती व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सुशासन हेर्ने सचिव श्री गणेश प्रसाद पाण्डेयको संयोजकत्वमा प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक खिम बहादुर खड्का र आर्थिक मामिला तथा योजना मन्त्रालयका उप-सचिव ध्रुब पाण्डे सदस्य रहने गरी “आपूर्ती सहजिकरण समिति” गठन गरी आवश्यक कार्य गर्ने ।
11. तत्कालका लागि मिति २०७६।१२।११ गते बिहान देखि सरकारी तथा निजि स्कुल, कलेज र विश्वविद्यालयहरू २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।
12. तत्कालका लागि मिति २०७६।१२।११ गते बिहान देखि भेला, बैठक, महोत्सब, तालिम, गोष्ठी, सेमिनार लगायतका सबै कार्यक्रम २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।
13. प्रदेश प्रवेश गर्ने त्रिबेणीधाम, दाउन्ने, रामदी, आबुखैरेनी, बुर्तिबाङ, गैंडाकोट, आरूघाट, कोरोला र रुइला लगायतका सम्पूर्ण नाका मिति २०७६।१२।११ गते बिहानदेखि एक हप्ताका लागि बन्द गर्ने ।उक्त सीमा नाकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वास्थ्यकर्मी सहितको एकीकृत हेल्थ डेस्क स्थापना गरी संचालन गर्ने ।
14. प्रदेशभित्र रहेका धार्मिक स्थल, मठ-मन्दिर, गुम्बा, मस्जिद, चर्च, सांस्कृतिक केन्द्र, सिनेमा हल, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, संग्रहालय, स्वीमिङ पुल, मनोरंजन स्थल, डान्सबार तथा क्लब आदिलाई २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने, यसको अनुगमन हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने बजार अनुगमन तथा नियमन समितिले गर्ने ।
15. अत्यावश्यकीय सेवा र सामग्री जस्तै: औषधी, उपकरण, पानी, एम्बुलेन्स, सरसफाई, दूध, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ, खाद्यान्न आदि ढुवानी गर्ने सवारी साधन बाहेक अन्य सार्बजनिक सबारी साधनको आवागमन मिति २०७६/१२/११ गते बिहानदेखि एक हप्ताका लागि बन्द गर्ने ।
16. कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित १० वटा विषयगत समितिहरू: अस्पताल व्यवस्थापन समिति, कर्मचारी व्यवस्थापन समिति, सूचना तथा संचार व्यवस्थापन समिति, एम्बुलेन्स व्यवस्थापन समिति, क्वारेन्टाइन व्यवस्थापन समिति, द्रुत प्रतिकार्य समूह (Rapid Response Team) तथा सर्भिलेन्स समिति, प्रयोगशाला तथा नमूना संकलन समिति, हेल्थ डेस्क व्यवस्थापन समिति, बजार अनुगमन तथा नियमन समिति र आपूर्ती व्यवस्थापन समितिले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गरी समन्वय समिति र निर्देशक समितिलाई संयोजकले जानकारी गराउने ।
17. शंकास्पद विरामीको नमूना संकलन गरी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न आवश्यक पहल गर्ने र हाललाई ल्याब टेस्टलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत अस्पताललाई सहजिकरण गर्ने ।
18. कोरोना भाइरस (COVID -19) संक्रमणको नियन्त्रण, रोकथाम र व्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई बीमा, प्रोत्साहन भत्ता, सुरक्षा लगायतको प्रबन्ध गर्नका लागि प्रदेश सरकारलाई प्रस्ताव पेश गर्ने ।
19. तत्कालका लागि PPE १००० थान, इन्फ्रारेड थर्मोमिटर १००० थान, मास्क ३० हजार थान, सेनिटाईजर र डिसइन्फेक्टेन्ट २०० लिटर लगायतका सामग्रीहरू तत्काल उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गर्ने । बजारमा उपलब्ध हुनसक्ने स्थितिमा प्रदेशले आवश्यक उपकरण/सामाग्रीहरु खरिद गरी व्यवस्थापन गर्ने ।
20. लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग अस्पतालको रूपमा स्थापना गर्न प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने ।
21. कोरोना भाइरस (COVID -19) रोकथाम तथा नियन्त्रण सम्वन्धी कार्यका लागि आवश्यक पर्ने सवारी साधनहरु विभिन्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुले उपलब्ध गराउने ।
22. सम्पूर्ण प्रदेशबासीहरुलाई अत्यावश्यक काममा बाहेक आवत-जावत, हिंडडुल नगर्न, नियमित रूपमा साबुनपानीले हात-मुख धुन, भिडभाडमा नजान, स्वास्थ्य सम्बन्धी कुनै समस्या परेमा नजिकको स्वास्थ्य संस्था वा प्रदेश सरकारद्वारा संचालित हेलो डाक्टर कक्षको फोन ०६१-५२४०७४ मा सम्पर्क गर्न र ७ जना भन्दा बढी मानिस भेला नहुन आम जनसमुदायलाई आव्हान गर्ने ।
23. कोरोना भाइरस (COVID -19) को विश्वव्यापी माहामारी फैलिइरहेको यस कठिन घडीमा संयमित भई सजगता अपनाउने सम्पूर्ण प्रदेशबासी, सहि सूचना प्रवाह गर्ने संचारकर्मी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी , कर्मचारी, नागरिक समाज, संघ संस्था, सरोकारवाला लगायत सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।

