पुँजीको व्यवस्थापन विना उद्यमशीलताको विकास हुदैन : सभापति कोइराला
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुँजीको व्यवस्थापन विना उद्यमशीलताको विकास नहुने बताउनुभएको छ ।
पोखरा चेम्बर अफ कमर्स कास्की र घरेलु तथा साना उद्योग कार्यालय कास्कीले संयुक्त आयोजना गरेको उद्यमशीलता विकास तालिमको उद्घाटनका अवसरमा बोल्दै सभापति कोइरालाले उद्योगी व्यवसायीले समय, श्रम र पुँजीको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुर्व तयारी र जानकारी विना गरेको ब्यबसायले फाइदा भन्दा पनि पाठ मात्रै सिकाउने भन्दै कोइरालाले तालिमले नयाँ पुराना दुवै ब्यबसायलाई फाइदा पुग्ने बताउनुभयो ।
कमाउने भन्दा पनि बचत महत्वपुर्ण हुने भन्दै सभापति कोइरालाले कमाएको रकम बाट खर्च गरेर बचेको रकम बचत नभएर पहिला बचत त्यस पछि खर्च गर्ने बानीको विकास गर्न सके आर्थिक ब्यबस्थापनको पाटो राम्रो हुने सुझाव दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारीले तालिमले उद्योगी व्यवसायीको सिप दक्षता अभिबृद्धिको लागि सहयोग पुग्ने बताउनुभयो ।
पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले तालिममा कर शिक्षा, लेखा प्रणाली, उत्पादन र बजारीकरण, बीमा, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग दर्ता व्यावसायिक योजना लगायतका विषयमा तालिम दिने बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीका अधिकृत महराज ढकालले १० दिने तालिममा ३० वटा कक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।
तालिमले उद्योग व्यवसायलाई परिस्कृत गर्न सहयोग पुग्ने उल्लेख गर्दै उनले तालिम पछिको प्रमाणपत्रले सरकारी सेवा र सहुलियतमा ऋण लिन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी गौतम, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला लगायतले मन्तव्य राख्नुभएको थियो । तालिममा ४४ जना महिलाहरुको सहभागिता रहेको बताएको छ ।

