नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग प्रतिक्रियावादी शक्ति आतंकित: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)संग नेपालका मात्रै नभएर दुनियाका प्रतिक्रियाबादी शक्तिहरु आतंकित भएको बताउनुभएको छ ।
सोमबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेकपाको प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपासँग वैचारिक र ब्यवहारिक प्रतिस्पर्धा गर्न नसकेपछि प्रतिक्रियावादीहरु अत्तालिएको जिकीर गर्नुभयो ।
नेकपाले हाम्रो समाज हाम्रो जनता र पार्टी कार्यकर्ताको मनोभावना बुझेर कार्य गरेको भन्दै बाहिर आउने हल्ला, हल्ला मात्रै हुने बताउनुभयो ।
प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहमा रहेका नेता कार्यकर्तालाई जनताको भावना अनुसार जनता संगै रहन निर्देशन दिनुभयो ।
सरकारले गरेका विकास निर्माणका कामहरुको जनतासमक्ष प्रचार गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह थियो ।
विपक्षीले जनतामा भ्रम छर्ने काम गरेको तर सरकारले संसदमा दर्ता गराएका विधेयकमाथि पर्याप्त छलफल गर्नेतिर ध्यान नदिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रशिक्षण कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनाल, नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डपनि प्रशिक्षण तथा भेलामा आउने भनिए पनि प्रचण्ड भने कार्यब्यस्ताले गर्दा आउन नसकेको नेकपाले जनाएको छ ।

