सर्वसम्मतिका साथ सीमासम्बन्धि संविधान संशाेधन विधेयक पास गराैंः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न सबै राजनीतिक दलहरुलाई अनुराेध गर्नुभएकाे छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संविधानकाे अनुसूचीमा रहेकाे निशान छाप सच्याउनुपर्ने भएकाले संविधान संशाेधन गर्नुपर्ने हुन्छ ।

संविधान संशाेधनका लागि सरकारले संसदमा विधेयक दर्ता गरिसकेकाे छ ।
साेही बिषयमा छलफल गर्न प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बाेलाउनुभएकाे थियाे ।
प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठकबाट नै यस सम्बन्धि निर्णय गर्ने बताएकाे छ ।
समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरूले आफ्ना मागहरू समेत समावेश गरी संविधान संशाेधन गर्नुपर्ने बताएका थिए ।
सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक भोलि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ । त्यसको पूर्वसंध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संशोधन विधेयक विना शर्त सर्वसम्मत रूपमा पास गर्न आग्रह गर्नुभएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका अन्य विषयमा पछि छलफल गर्ने भन्दै तत्काल राष्ट्रिय अखण्डताको विषय रहेकाले यसलाइ सर्वसम्मत रूपमा पारित गर्न अनुराेध गर्नुभएकाे थियाे ।
तस्वीरः प्रधानमन्त्रीकाे निजी सचिवालय

