प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विराेध निर्वाचित

 प्रतिनिधिसभाको सभामुखमा  अग्निप्रसाद सापकोटा निर्विराेध निर्वाचित हुनुभएकाे छ ।

आइतबार बसेको प्रतिनिधिसभाकाे बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएकाे हाे ।

नेम्वाङको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएकाे थियाे ।

बैठककाे अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले सभामुखमा सापकाेटाकाे मात्र उम्मेदवारी परेकाले निर्विराेध निर्वाचित भएकाे घाेषणा गर्नुभयाे ।

सभामुखमा निर्वाचित सापकाेटा यसअघि नेकपाकाे स्थायी कमिटी सदस्य र सिन्धुपाल्चाेकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

तत्कालीन जनयुद्धकाे क्रममा भूमिगत हुनुभन्दा पहिला सापकाेटा शिक्षण पेशामा संलग्न रहनुभएकाे थियाे ।

१० वर्षे जनयुद्धमा भूगाेलका विभिन्न क्षेत्रमा कमाण्ड गर्नुभएका सापकाेटा यसअघि २ पटक मन्त्री हुनुभएकाे थियाे ।

समाजशास्त्रमा स्नाकाेत्तर सम्मकाे अध्ययन गर्नुभएका सापकोटा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का विश्वासपात्रका रूपमा रहनुभएकाे छ ।

Facebook Comments