नेकपा सचिवालय बैठक २० गते बस्ने गरी स्थगित
लामाे रस्साकस्सीपछि बसेकाे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी स्थगित भएकाे छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे।
२० गते बस्ने सचिवालय बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक-आर्थिक रूपान्तरण प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने प्रवक्ता श्रेष्ठकाे भनाइ थियाे ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा अाेलीकाे कार्यशैलीलाइ लिएर बहुमत सचिवालय सदस्य असन्तुष्ट रहेका छन् ।
बुधबारकाे बैठकमा अधिकांश सचिवालय सदस्यले प्रधानमन्त्रीकाे राजीनमा मागेका थिए ।
प्रधानमन्त्रीले भने तत्काल राजीनामा नदिने भन्दै काेराेना महामारी साम्य भएपछि बामदेव गाैतमलाइ प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव राख्नुभएकाे बुझिएकाे छ ।

