कोरोना भाइरसको परीक्षण अव पोखराबाट पनि हुने
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको परीक्षण पोखरामा पनि हुने भएको छ ।
कोरोना भाइरसको संक्रमण जाँच गर्ने थ्रोट स्याब परीक्षण गर्ने पोर्टेवल मेसिन पोखरामा ल्याइएपछि पोखरामा नै परीक्षण हुने भएको हो ।
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल)मा स्वाब परीक्षणको ब्यवस्था मिलाइएकाे छ । मेसिनकाे परीक्षण शुरू भएकाे छ ।
आज विहान मात्रै मेसिन ल्याएर अहिले जडानको काम भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धि बहादुर थापाले जानकारी दिनुभयाे ।
पोर्टेबल आरटीपिसिआर नाको यस मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सकिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो ।
डाक्टर शर्माले विज्ञ प्राविधिकहरुको टिम अहिले मेसिन जडानमा रहेकोले आजैबाट कोरोना जाँच हुने ९९ प्रतिशत सम्भावना रहेको बताउनु भयो ।
यस अगाडि पोखरामा कोरोना भाइरसको स्वाब टेष्ट गर्ने मेसिन नहुदा काठमाडौ पठाएर रिपोर्ट आउन तीन चार दिन सम्म लाग्ने गरेको थियो ।
योसँगै सबै प्रदेशमा कोरोना भाइरसको स्वाब परीक्षण हुनेछ । विश्व स्वास्थय संगठनले परीक्षणको दायरा बढाउन अनुरोध गरेको छ ।
चीनबाट ल्याइएका पोर्टेवल पिसिआर मेसिनबाट स्याब परीक्षण गर्दा ३ घण्टामा नै रिपोर्ट आउने बताइएको छ ।
कोरोना भाइरसको संक्रमणको शंका लागेमा समाज र घरपरिवारमा अलग्गै आइसोलेसनमा बस्न पनि विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।
विभिन्न मुलुकले लकडाउन गरी आवागमनमा पूर्ण रोक लगाएपनि त्यतिले मात्र कोरोना भाइरस संक्रमण रोक्न प्रयाप्त नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा करिव १ हजार जनाको स्वाब परीक्षण भएकोमा ५ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ ।

