कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै संक्रमित
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ ।
पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या १ लाख ६४ हजार ६ सय ३ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १ सय ६७ पुगेको छ ।
त्यस्तै इटालीमा यो भाइरसबाट १ लाख १ हजार ७ सय ३९ जना संक्रमित भएका छन् भने ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।
स्पेनमा यो रोगबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ भने संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।
जर्मनीमा समेत संक्रमितको संख्या ६६ हजार ८ सय ८५ पुगेको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ४४ हजार ५ सय ५० जना संक्रमित भएका छन् भने ३ हजार २४ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । बेलायत, नेदरल्याण्ड, बेल्जियम र स्वीजरल्याण्ड लगायतका मुलुकमा समेत संक्रमितको संख्या १० हजार नाघेको छ ।

त्यस्तै कोरोना भाइरस सुरुमा देखिएको चीनमा भने हालसम्म ८१ हजार ५ सय १८ जना संक्रमित भएका छन् । जसमध्ये ७६ हजार ५२ जना निको भइसकेका छन् । चीनमा नयाँ संक्रमितको संख्या र मृत्यु हुनेको संख्या पनि न्यून रहेको छ ।
यो भाइरसको संक्रमणका कारण हालसम्म विश्वभर ३७ हजार ८ सय २० जनाको मृत्यु भएको छ भने ७ लाख ८५ हजार ८ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

