कांग्रेसकाे १४ औं महाधिवेशन: नेतृत्वका लागि छलफल तीव्र, केन्द्रीय समितिकाे अन्तिम बैठक बस्दै
शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्दै छ । पार्टीकाे केन्द्रीय केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान साढे ११ बजे बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जाननकारी दिनुभयाे ।
शुक्रबारबाट सुरु हुने महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र इतर पक्षकाे अलग अलग तयारी छ । इतर पक्षमा सभापति पदका लागि सहमति हुन नसक्दा साझा उम्मेदवार तय हुन सकेकाे छैन् । सभापति देउवाले भने पुनः सभापति पदमा उम्मेदवारी दिनुहुने निश्चित छ ।
यसअघि देउवा पक्षमा लागेका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने बताउनुभएकाे छ भने रामचन्द्र पाैडेल पक्षबाट पाैडेल, शेखर काेइराला, प्रकाशमान सिंह, शंशाक काेइरालाले सभापतिमा उठ्ने चाहना गरेका छन् । तर इतर पक्षलाइ सभापतिमा साझा उम्मेदवार चयन गर्न दबाब बढेकाे छ ।
कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

