प्रदेश सरकारले नै खाेप ब्यवस्था गर्नुपर्ने सांसद काेइरालाकाे माग
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले प्रदेश सरकारले सिधै खोप खरिद गरेर प्रदेशवासीलाई खोप दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आह्वान गर्नुभएको सर्वदलिय बैठकमा कोइरालाले कोरोना महमाहारी नियन्त्रण र न्यूनीकरण खोपबाट मात्र सम्भव रहेकाले संघीय सरकारको भर नपरी प्रदेश सरकार आफैले खरिद गरेर छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न माग गर्नुभयो ।
यसैगरी उहाँले पिसिआरको नतिजा २४ घण्टाभित्रमा प्राप्त गर्ने व्यवस्था मिलाउन र स्वास्थ्यकर्मीलाई सुविधा थप गर्न समेत आग्रह गर्नुभएको छ ।
प्रदेशमा अक्सिजन अभाव हुन नदिन अक्सिजन कम्पनीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने र कम आय भएका नागरिकलाई सरकारी बाहेकका अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था गर्न सांसद कोइरालाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पश्चिमाञ्चल अस्पतालमा कोरोनाको मात्र उपचार गर्दा अन्य बिरामी सेवाबाट बञ्चित हुने भएकाले अर्को व्यवस्था गर्न र प्रदेश अन्तर्गतका अस्पतालहरुमा छिटो भन्दा छिटो अक्सिजन प्लान्ट स्थापना गर्न उहाँले जोड दिनुभएको थियो ।

