नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाण्डौमा शुरू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाण्डौमा शुरू भएको छ । २०६९ सालमा सातौं महाधिवेशन गरेपछि राष्ट्रिय सम्मेलन मार्फत् नेतृत्व चयन गर्दै आएको माओवादी केन्द्रले ९ बर्षपछि महाधिवेशन गरेको हो ।

यसअघि शनिबार साँझसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भन्दै तयारी लागेको माओवादी केन्द्रले सबै प्रक्रिया पुरा भएकाले सम्मेलनलाई महाधिवेशनकै नाम दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनशत्रमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को प्रशंसा गर्नुभएको छ । उहाँले प्रचण्डकै जोडबलमा संविधानसभा, समावेशी, समानुपातिक सहभागिता, संघीयता सहितको गणतन्त्र स्थापना हुन सकेको बताउनुभयो ।

कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रचण्डकै जोडबलमा आफूहरू संविधानसभाका लागि सहमत भएको उल्लेख गर्नुभयो ।
उहाँले गठबन्धन निर्वाचनपछि सम्म पनि कायम रहनुपर्ने भन्दै गठबन्धन कसैका विरूद्धमा नभएको र पूरा कार्यकाल संसदले काम गर्न पाउनुपर्ने भावनाका साथ गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको महाधिवेशनले लिने निर्णयले देशको राजनीतिलाई प्रभावित पार्ने उल्लेख गर्नुभयो । राजनीतिक दल तथा नेपाली नागरिकले राखेका अपेक्षालाई सम्बोधन गर्ने तथा आगामि दिनमा जनताको वीचमा पुगेर विकास निर्माणमा सहयोग गर्ने खालको कार्यक्रम ल्याउने प्रचण्डको भनाई थियो ।

उहाँले एमालेसँग गरिएको पार्टी एकता सही भएपनि त्यसलाई के कारणले टिकाउन सकिएन भनेर सबैले गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अन्तिम समयमा भएपनि सम्मेलनलाई राष्ट्रिय महाधिवेशनका रूपमा सम्पन्न गर्ने निर्णय सही भएको बताउनुभयो । उहाँले सबै मिलेर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो । साथै माओवादी केन्द्रसँग आफ्नो मन मिलेको बताउँदै नेता नेपालले सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताउनुभयो । उहाँले एकता सही भएको तर जोगाउन नसक्नु कमजोरी भएको उल्लेख गर्नुभयो ।

नेपालमा क्रान्तिको नेतृत्व गर्न सक्ने नेताहरूले विकास निर्माणको नायक बन्न नसकेको भन्दै विकास निर्माणका लागि एकैसाथ अगाडि बढ्नुपर्ने बताउनुभयो । बामपन्थीहरूको उद्देश्य एउटै भएपनि विभिन्न पार्टीका रूपमा विभाजित हुनु दुःखद रहेको चर्चा गर्नुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको एजेण्डाहरू अझै स्थापित गर्न बाँकी रहेकाले एक आपसमा सहकार्यका साथ ती सवाल उठाउनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले माओवादी पार्टीहरूवीच एकता आवश्यक रहेको तर एजेण्डामा सहमति खोज्नुपर्ने बताउनुभयो । उहाँले जनयुद्धपूर्व गरिएका प्रतिवद्धतामा पुनः सहमत भएमा एकताको संभावना हुने बताउनुभयो ।

नेकपा मालेका महासचिव सिपी मैनालीले मुलुकका अगाडि रहेका विभिन्न सवालहरूको जवाफ माओवादी केन्द्रको महाधिवेशनले दिन सक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले एजेण्डा नमिले पनि राष्ट्रियता र विकास निर्माणमा भने सहकार्य हुन सक्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले प्रतिगमनको खतरा अझै बाँकी रहेको भन्दै गठबन्धनलाई थप कसिलो बनाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता मातृका यादव, नेतृ पम्फा भुषाल लगायतले बोल्नुभएको थियो ।

Facebook Comments