माओवादी केन्द्रको महाधिवेशनः बन्द सत्रमा अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदन प्रस्तुत
मंगलबार समूहमा छलफल हुने
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार (आज)बाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा भएका र हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।
बन्द सत्रको सुरुमा क. कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन गरिएकाे छ । अध्यक्ष मण्डलमा क. गिरीराजमणी पोखरेल, क. गणेश साह, क. परशुराम तामाङ, क. पूर्णाकुमारी सुबेदी, क. परशुराम रम्तेल र क. रुपा महर्जन सदस्य रनुभएको छ ।
बन्द सत्रमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत् गर्नुभएकाे छ ।
त्यस्तै बन्द सत्रमा पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत् गर्नुभएकाे थियाे । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।
केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ ।
बन्द सत्रमा अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत् वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत् विधान मस्यादा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको छ ।
मंगलबार समूहगत छलफल गर्ने र बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम रहेकाे महाधिवेशन प्रचार प्रसार उपसमितिले जनाएकाे छ ।

