२३ औं संस्करणको पोखरा सडक महोत्सवः नयाँ वर्षकाे विशेष स्वागत
२३ औं संस्करणको पोखरा सडक महोत्सव जारी छ । अंग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेकाे हाे । महोत्सव अन्तर्गत सन् २०२१ काे विदाइ तथा सन् २०२२ काे स्वागतमा विशेष कार्यक्रम गरिन्छ । रातकाे १२ बजे विशेष कार्यक्रम काेमागाने पार्कमा हुनेछ ।
महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएकाे हाे ।
साे अवसरमा मन्त्री खाँडले परीक्षणकै रूपमा भएपनि पाेखराकाे लेकसाइड क्षेत्र २४ घण्टा नै खुल्ला राख्ने प्रवन्ध मिलाउन जिल्ला प्रशासन कार्यलयलाइ निर्देशन दिनुभएकाे थियाे । उहाँले हाेटलमा जाने पाहुना तथा संचालकलाइ असहज लाग्ने अवस्था सिर्जना हुन नहुने बताउनुभयाे ।
व्यवसाय खोल्दा निद्राका रोगीले हामीलाई असर पुग्यो भनेर आउँछन्, त्यसका लागि स्थानीयको सहयोगको आवश्यक पर्ने खाँडकाे भनाइ छ । उहाँले ठूलो साउन्ड बजाउँदा आसपासका छिमेकीलाई असर पर्ने भएकाले त्यसमा भने हेक्का राख्नुपर्ने बताउनुभयाे ।
बाजागाजासहित विहीबार भएकाे उद्घाटन कार्यक्रममा २५ भन्दा बढी साँस्कृतिक समूहको सहभागिता रहेकाे थियाे ।
महोत्सवस्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहेका छन् । ३ दिनसम्म चल्ने महोत्सवमा कोमागानेपार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्नेछ। दिउँसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षणहरु रहेका छन्।
महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालीन बस सेवाको पनि व्यवस्था हुनेछ। यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ। यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ।
महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको फाइजर खोप दिइनेछ। कास्की जिल्ला प्रशासन र पोखरा महानगरसँगको समन्वयमा महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था गरेको हो।

कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै, पोखरा खुल्लैछ भन्ने सकरात्मक सूचना प्रवाह गरि पर्यटन प्रर्वद्धन साथसाथै पोखरालाई “अंग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक रेबान पोखराले जनाएको छ।

