१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, नेताहरूकाे शुुभकामना
आज मे १ श्रमिक दिवस । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरका मजदुरहरूले एकसाथ मनाउँदैछन् । नेपालमा पनि विभिन्न दलनिकट श्रमिक संगठनहरूले शुभकामना अादनप्रदान गरी श्रमिक दिवस मनाउँदैछन् ।
श्रमिक दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरूले सन्देश मार्फत् शुभकामना व्यक्त गरेका छन् ।
सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।
१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गर्नुभएकाे छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतकाे प्रयाेग गरी एमालेलाई असंवैधानिक तरिकाले सरकारबाट हटाइएकाे जिकीर गर्नुभएकाे छ ।
श्रमिक दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे जिकीर गर्नुभएकाे हाे । साथै उहाँले सन्देशमा आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने बताउनुभएकाे छ ।
सन्देशमा सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने क्रममा असंवैधानिक रूपमा सरकारबाट हटाएर अवरोध गरिएकाे उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि श्रमिक दिवसकाे शुभकामना सन्देशमा प्रतिगमनविरूद्धकाे संघर्षमा लामवद्ध हुन अपिल गर्नुभएकाे छ ।
उहाँले सन्देशमा अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गर्नुभएकाे छ ।
आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका याेगदान दिनुपर्ने प्रचण्डकाे सन्देशमा उल्लेख छ ।
संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्नु मजदुर एवम् श्रीमजीवि उत्पीडित समुदायको मुख्य कार्यभार भएको उल्लेख गर्दै बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकाे पक्षमा मत दिन समेत अपिल गर्नुभएकाे छ ।

