दशैंका दिन केही स्थानमा भारी वर्षात हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंका बेलाका लागि माैसम बुलेटिन सार्वजनिक गरेकाे छ ।
सार्वजनिक गरिएकाे बुलेटिनमा विजयादशमीका दिन देशैभर बर्षात हुने र केही स्थानमा भने भारी वर्षात हुने संभावना रहेकाे उल्लेख छ ।
महाशाखाले नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको पनि जनाएकाे छ।
हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा मिति २०७९-०६-१८ देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।
जसकाकारण निम्न अनुसारकाे माैसम रहने संभावना महाशाखाकाे अनुमान छ ।
मिति २०७९-०६-१८, मंगलबार (नवमी) : देशभर आंशिक देखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मिति २०७९-०६-१९, बुधबार (विजया दशमी) : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
मिति २०७९-०६-२०, बिहीबार (एकादशी) : देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
मिति २०७९-०६-२१, शुक्रबार (द्वादशी) : देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
तसर्थ यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।
साथै महाशाखाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन दैनिक हेर्न अनुरोध गरेकाे छ ।

