पेट्रोलियम पदार्थ ढुवानी सहज हुने
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीकाे आन्दोलन स्थगित भएकाे छ । व्यवसायीले कमिसन बृद्धि, भाडा बृद्धि लगायतका माग राखेर आन्दोलन गरेका थिए ।
आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा ढुवानी व्यवसायीको आन्दोलनका पेट्राेल अभाव भएकाे थियाे । पेट्रोलियम पदार्थको अभाव देखिएकाे थियाे भने सीमित पेट्राेल पम्पहरूमा उपभोक्ताको लामो लाइन लागेको थियो ।
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा चार बुँदे सहमति भएकाे थियाे ।
व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।


