जनताको सेवक बन्छुः मेयरका उम्मेद्वार थापा
नेकपा एमालेको तर्फबाट पोखरा महानगपालिकाको मेयरका उम्मेदवार कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा १७ ले विरौटामा गरेकाे उम्मेद्वार परिचय एवं बृहत आमसभामा बोल्दै उहाँले सुशासनयुक्त छिटोछरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने बताउनुभयाे ।
पोखरालाई विश्वको उत्कृष्ट सहरको रुपमा परिचित गराउन पोखरेली जनताको साथ र सहयोग अपरिहार्य हुने विश्वास व्यक्त गर्दै उम्मेद्वार थापाले भन्नुभयाे, ‘प्राकृतिक सम्पदानको संरक्षण गर्दै पर्यटनमैत्री विकास निर्माणमा जोड दिइने छ ।’
नेकपा एमाले स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकास विरोधी भएको बताउनुभयाे ।
उहाँले गठबन्धनलाई जनताको बलले परास्त गर्ने बताउँदै उहाँले निर्वाचनमा सूर्य ध्वजावाहक उमेद्वारलाई विजय गराउन कार्यकर्तालाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयाे ।
उपमेयरका उमेद्वार मञ्जुदेवी गुरुङले महानगरले ५ वर्षको अवधीमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताउनुभयाे ।
खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफूलाई पुनः उपमेयरको रुपमा जनतासामू उपस्थित भएकाे बताउनुभयाे ।
पोखरा १७ का वडाअध्यक्षका उम्मेद्वार राधिका शाही योगीले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

