माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

महाधिवेशन सम्पन्न गरेकाे लामाे समयसम्म पनि पदाधिकारी तथा केन्द्रीय समितिकाे समेत पूर्णता दिन नसकेकाे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान ११ बजेदेखि काठमाडौंमा बस्ने बैठककाे मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा समेत हुनेछ ।

त्यस्तै यही बैठकबाट यही वर्ष हुने आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने बताइएकाे छ ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो ।

माओवादी केन्द्रको आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने उल्लेख छ ।

२९९ सदस्यीय केन्द्रीय सदस्यहरुमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । याे बैठकले मनाेनित र वैकल्पिक केन्द्रीय सदस्य समेत चयन गर्ने तयारी छ ।

Facebook Comments