माओवादी केन्द्रमा कांग्रेससँग गठबन्धन नगर्न दबाब
नेकपा माओवादी केन्द्रमा नेपाली कांग्रेससँग भन्दा बामपन्थी गठबन्धनमा जाेड दिनुपर्ने अावाज उठेकाे छ । केन्द्रीय समितिकाे बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले बाम गठबन्धनमा जानुपर्ने बताएका छन् । कतिपय केन्द्रीय सदस्यले भने अहिलेकै गठबन्धनकाे निरन्तरतामा जाेड दिएका छन् ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवाद र संसदवाद सँगै जान नसक्ने भन्दै संसदीय राजनीतिमा नै पार्टी जाने भए नाम परिवर्तन गर्न सुझाव दिनुभएकाे छ ।
उहाँले माओवाद र संसदवादमध्ये एउटा छोड्नैपर्ने बताउनुभयाे । ‘माओवाद र संसदवादलाई सँगै लैजानु भनेको सिद्धान्तमा स्पष्ट नहुनु हो। हामीले एउटा वाद छोड्नुपर्छ,’ उनले भने,‘अब संसदवादलाई छोड्न नसक्ने होला। त्यसैले पार्टीको नाम परिवर्तन गर्नुपर्छ।’
जारी केन्द्रीय समितिकाे बैठकमा पदाधिकारी चयनकाे बिषय पेचिलाे बनेकाे छ भने केन्द्रीय सदस्य मनाेनयनका बिषयमा समेत केन्द्रीय सदस्यहरूकाे विमति छ । कतिपयले विमति रहेपनि बैठकमा खुलेर राखेका छैनन ।

