राजश्व छल्ने ठूला गिरोहमाथि निगरानी : महानिर्देशक

व्यवसायीलाई अनावश्यक दु:ख नदिइयोस् : पोखरा उद्योग वाणिज्य संघ

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गर्नुभएकाे छ ।

पाेखरामा १३ दिनअघि महानिर्देशकको पद सम्हालेका अधिकारप्ले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे ।

‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ’,पोखरा उद्योग वाणिज्य संघले वहाँको स्वागतमा आयोजना गरेको अन्तक्रियामा अधिकारीले भन्नुभयाे, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’

उहाँले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र,टे«डिङ व्यवसाय,निर्माण र सेवा क्षेत्रमा रहेको पनि बताउनुभयाे । उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पाकत्व वृद्धिमा सघाएको अधिकारीकाे भनाइ थियो ।
राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गर्दै उहाँले भन्रुभयाे, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’

उहाँले नयाँ व्यवसायीहरुको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाउनुभयाे । राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गर्नुभयाे ।

‘यहाँ सामान पनि बेच्ने र भ्याट बिल पनि बेच्नेहरु छन्,भन्सार छलेर सामान ल्याउने उत्तिकै छन्’, उहाँले बजारको प्रवृत्ति औंल्याउँदै प्रश्न गर्नुभयाे, ‘यहाँ रसुवाबाट हाइड्रो भनेर सामान भित्रन्छ अनि त्यसमा १ करोड ६३ लाखको महँगा कपडा हुन्छन् । अब भन्सार तिरेर आएको त्यस्तै कपडा व्यवसायी कसरी टिक्छन् ?’

महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरुको संरक्षण र अवैध रुपले हुने राजश्व चुहावट रोक्ने अभियान सजिलो नभएको पनि स्वीकार गर्नुभयाे ।

महानिर्देशकलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गर्नुभएकाे थियाे ।

पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उहाँले भन्नुभयाे, ‘तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन । उसले सफाइको मौका पाउँछ । अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस् ।’

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले गलत मनसायका साथ गरिने अवैध कारोबारको नियन्त्रण र वैध व्यापारीलाई संरक्षण गरिनुपर्ने धारणा राख्नुभयाे ।

Facebook Comments