गण्डकीमा बिरामीले अबदेखि निःशुल्क रगत पाउने

गण्डकी प्रदेशमा फागुन १ गतेदेखि बिरामीले रगत लिनुपरेमा निःशुल्क पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले प्रदेशभरीका घाईते तथा विरामीहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेकाे छ ।

निःशुल्क रगत दिनका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत तथा रगतजन्य सेवा निःशुल्क कार्यविधि २०७८ बनाएको छ । सो कार्यविधिलाई गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जानकारी दिनुभयाे ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा उपचार गर्दा आवश्यक पर्ने सबै विरामीलाई रगत निःशुल्क उपलब्ध गराइने छ ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि परीक्षण र भण्डारणका लागि लाग्ने शुल्क भने प्रदेश सरकारले बेहाेर्ने छ । यसअगाडि रेडक्रसले ब्लड बैंक सञ्चालन गरेकाे छ । रक्तदाताले निःशुल्क रगत दिएपनि ब्लड व्याग, परीक्षण तथा भण्डारणका लागि हुने खर्च जाेडेर रू ७ सय ५० लिने गरिएकाे छ ।

यसअघि पनि रगत निःशुल्क हुनुपर्ने अावाज उठ्ने गरेकाे थियाे । तर गण्डकी प्रदेश सरकारले भने कार्यविधि बनाएर यस्ताे अभ्यास प्रारम्भ गर्न लागेकाे हाे ।

प्रदेश सरकारकाे निर्णयअनुसार जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतमा सहीद, घाईते, अपाङ्ग तथा बेपत्ता परिवारलाई निःशुल्क उपचार हुने गरेकाे छ ।

Facebook Comments