क्रिकेट टिमबाट सन्दीप लामिछाने निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । लामिछानेले बलात्कार गरेकाे भन्दै एक किशोरीले दिएकाे उजुरीमा अनुसन्धानका लागि प्रहरीले पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बनकाे निर्णय लिएकाे हाे ।

एक किशाेरीले गत भाद्र ५ गते साँझ घुमफिरपछि राती सिनामंगलकाे एक हाेटलमा लगि बलात्कार गरेको भन्ने किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको हाे ।

क्यानले एक विज्ञप्ति जारी गर्दै बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकाे हो । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण लामिछानेलाई निलम्बन गरिएकाे हाे ।

लामिछाने यतिबेला क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न लुसियामा रहेकाे क्यानले जनाएकाे छ । क्यानसँगकाे सम्पर्कमा लामिछानेले बलात्कारकाे आराेप अस्वीकार गर्दै कानुनी उपचारमा सहयाेगकाे अपेक्षा गरेकाे बताइन्छ ।

Facebook Comments