मन्त्रिपरिषद्काे माइन्युट नै गायब !
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन आफ्नाे नेतृत्वकाे सरकारले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घाेषणा गर्ने निर्णय गरेपनि साे माइन्युट नै गायब बनाइएकाे बताउनुभएकाे छ ।
बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औं शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।
गणतन्त्र नेपालकाे पहिलाे प्रधानमन्त्रीकाे हैसियतमा पहिलाे निर्णय जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घाेषणा गर्ने भएपनि साे पुरा हुन नसकेकाे र लडाइँ जारी रहेकाे प्रचण्डकाे भनाई थियाे ।
संविधान र गणतन्त्रको रक्षाको लागि कांग्रेससँग सहकार्य गर्नुपरेकाे प्रचण्डले उल्लेख गर्नुभयाे । कांग्रेससँग भाग मागेर समाजवाद वा कम्युनिष्ट पार्टीकाे उद्देश्य पुरा हुन नसक्ने नेकपाका नेता ऋषि कट्टेलकाे भनाईकाे जवाफमा प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । प्रचण्डले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो भनेर प्रश्न समेत गर्नुभएकाे थियाे ।
माओवादी केन्द्रप्रति अहिलेपनि नकारात्मक प्रहार भइरहेको भन्दै प्रचण्डले जनताकाे पक्षमा संघर्ष जारी राखेकाे जिकीर गर्नुभयाे । जनयुद्धकाे बेलामा मात्र नभइ अहिले पनि प्रतिक्रियावादीहरूले आफ्नाे विरूद्धमा षडयन्त्रमा लागिरहेकाे प्रचण्डकाे भनाइ थियाे ।
तत्काली नेकपा (माओवादी केन्द्र) का वैकल्पिक पाेलिट्ब्यूराे सदस्य सुरेश वाग्लेलाई २०५६ साल भाद्र २३ गते गाेरखाकाे गाँखूमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेकाे थियाे ।

