बैशाख ३० मा स्थानीय तह निर्वाचन नगराउन भन्दै परेकाे निवेदन सर्वाेच्चद्वारा दरपिठ
स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै सर्वाेच्च अदालतमा परेकाे रिट निवेदन दरपिठ भएकाे छ ।
बैशाख ३० लागि ताेकिएकाे निर्वाचनकाे विरूद्ध महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहकाे तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न सर्वाेच्चले अस्वीकार गरेकाे हाे ।
अदालत प्रशासनले निवेदन विना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएकाे हाे ।
स्थानीय तहको पाँच वर्षको कार्यकाल नपुग्दै नयाँ चुनाव गर्न नमिल्ने दाबी गरेर मेयर साहले सर्वोच्चमा रिट दायर गर्न खाेज्नुभएकाे थियाे । मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिनुभएकाे हाे ।
स्थानीय तह निर्वाचन ऐनले विभिन्न चरणमा निर्वाचन भएपनि पहिलो चरणको मितिलाई नै निर्वाचन मिति मानिने उल्लेख छ ।

