पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती मनाइँदै

नेपाल एकीकरण अभियानका प्रमुख व्यक्तित्व पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औं जन्मजयन्ती मनाइँदैछ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहान ११ बजे भृकुटीमण्डपमा जन्म जयन्ती विशेष समारोह आयोजना गरेको जनाएको छ ।

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएपछि उहाँकै अगुवाइमा नेपाल एकीकरण अभियान थालनी भएकाे थियाे ।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको पालामा शुरू भएकाे एकीकृरण अभियानकै निरन्तरतामा शाहपछिका राजाहरूले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

Facebook Comments