एमसीसी पास गर्न अमेरिकाकाे ‘डेटलाइन’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न अमेरिकाले लबिङ गरिरहेकाे छ । अमेरिकाले फेब्रुअरी १६ काे डेटलाइन स्मरण गराउँदै लबिङ बढाएकाे हाे ।
एमसिसिका अधिकारीले मात्र नभइ अमेरिकाका मन्त्रीले समेत एमसीसी पास गर्न भन्दै प्रधानमन्त्री र शीर्ष नेतासँग फाेनवार्ता गरेपछि याे बिषय थप पेचिलाे बनेकाे छ ।
एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै चर्काे मतभेद छ । बिहीबार अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी लिने या नलिने निर्क्याैल गर्न भन्नुभएकाे छ ।
यही फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्ममा एमसीसी संसदबाट अनुमोदन नगरिए नेपालसँगकाे सम्बन्ध नै पुनरावलाेकन गर्ने तथा चीनकाे हस्तक्षेपका रूपमा बुझ्ने लु को स्पष्ट सन्देश रहेकाे श्राेतले बताएकाे छ ।
जवाफमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफू एमसीसी सम्झौता पारित गरी लागू गराउन प्रतिबद्द भएपनि गठबन्धनमा सहमति बन्न नसकेकाे बताउनुभएकाे थियाे । देउवाले कम्युनिष्ट पार्टीहरूले एमसीसीकाे विराेध गरेकाे जवाफ दिनुभएकाे थियाे ।
त्यसपछि मन्त्री लुसँगको फोनमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सम्बन्धमा सत्ता गठबन्धनले पहिले निर्णय गर्नुपर्ने बताउनुभएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने जनमत विभाजित भएकाे तथा केही बुँदामा संशाेधन हुनुपर्ने पार्टीकाे धारणा रहेकाे बताउनुभएकाे श्राेतले उल्लेख गरेकाे छ ।
साथै नेपालमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाले चुनावपछि मात्र एमसीसी संसदमा लैजाने भन्दै केही समय पर्खन भन्नुभएकाे थियाे । तर अमेरिकी पक्षले भने नेपालमा चीनको हस्तक्षेप बढ्दै गएको र एमसीसी पारित हुन नसक्नुमा चीनकै हात रहेको भनेर बुझ्न अमेरिका बाध्य हुने भन्दै चेतावनीयुक्त भाषामा एमसीसीकाे पारित गर्न दबाव दिने गरेकाे छ ।

