सत्ता गठबन्धनले महानगर उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलबारे निर्णय लिने

सत्तारुढ गठबन्धनले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलकाे टुंगाे लगाउने भएकाे छ ।

साथै स्थानीय तहमा विभिन्न संयन्त्र मार्फत् वैशाख पहिलो साताभित्र सिट बाँडफाँट टुंगो लगाउने तयारीका साथ अगाडि बढ्ने गठबन्धनकाे निर्णय छ ।

मंगलबार बसेकाे सत्ता गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले चुनावी तालमेलका लागि ७ आधारहरु तय गरेको छ ।

बैठकले तालमेलका ७ आधार तय गरी तालमेलकाे निर्णय गर्ने संयन्त्रहरु बनाएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।

गठबन्धनले तय गरेका ७ आधार

  • २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
  • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।
  • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने
  • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत ।
  • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
  • सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
  • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

माथि उल्लेखित आधारमा वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेलकाे निर्णय पालिकास्तरीय संयन्त्रले निर्णय लिन सक्नेछ ।

त्यस्तै नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउनुपर्नेछ ।

Facebook Comments