न्याय माग्दै राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास
आफूमाथि अन्याय भएकाे भन्दै दाेस्राेपटक आमरण अनशनमा बसेकै बेला निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाहकाे प्रयास गरेपछि प्रहरीले पक्राउ गरेकाे छ ।
राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर राजपुतले आत्मदाह प्रयास गरेपछि प्रहरीले पक्राउ गरेकाे हाे ।
अनसन स्थल बसन्तपुरबाट ट्याक्सिमा एक साथिका साथ निहारिका शितलनिवास पुगेकाे र पेट्राेल खन्याएर आत्मदाहकाे प्रयास गरेपछि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
निहारिका आफ्नो २ वर्षको छोरासहित लामाे समयदेखि न्यायका लागि भन्दै काठमाण्डाैमा अनसन लगायतका गतिविधि गर्दै आउनुभएकाे छ ।
यसअघि जेठमा सरकारी पक्ष र निहारिकावीच ५ बुँदे सहमति भएकाे तर साे कार्यान्वयन नभएपछि राजपुतले आत्मदाहकाे चेतावनी दिनुभएकाे थियाे । आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गराउनुपर्ने निहारिकाकाे माग छ ।
प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । निहारिकाले आफूमाथि विवाह गर्ने प्रलाेभन देखाएर याैन सम्बन्ध राखेपछि बच्चा जन्मिएकाे भन्दै डिएनए लगायतका परीक्षणकाे माग राख्नुभएकाे छ ।
आफूमाथि बलात्कारजस्ताे जघन्य अपराध गर्ने अपराधी स्वतन्त्र भएकाे तर आफू पीडित भएर पनि असुरक्षित हुनुपरेकाे निहारिकाकाे भनाइ छ ।
निहारिकाले अनुसार ०७६ कात्तिक ६ गते साँझ २२ वर्षीय शिवराज श्रेष्ठले ललाइफकाई बन्धक बनाएर तथा नशालु पदार्थ खुवाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकाे पछि अदालतमा मुद्दा समेत छलेकाे थियाे ।
जाहेरी दर्तापछि शिवराज पक्राउ परे र अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएपनि जाहेरी दर्ता भएको २ वर्षपछि (०७८ माघ २४) मा जिल्ला अदालत धनुषाले निहारिका बलात्कृत नभएकाे फैसला सुनाएकाे थियाे ।
फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटेकाे र निहारिका भने विभिन्न स्थानमा अनसन लगायतमा गतिविधिका साथ न्याय माग्दै हिड्नुभएकाे छ ।
हाल निहारिकाकाे मुद्दा उच्च अदालतमा छ । तर तीन महिना बित्दासमेत मुद्दा पेशीमा चढेकाे छैन भने निहारिका अदालत र पीडकवीच मिलेमाेताे भएकाे हुनसक्ने भन्दै न्यायकाे फरक लडाइँमा लाग्नुभएकाे हाे ।

