दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रेरणा मिलाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । उहाँले नयाँ वर्ष २०७९ काे शुरूवातकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश दिँदै स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभएकाे छ ।

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ।

विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीकाे सन्देशमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७९ प्रारम्भ भएको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका कामना गरिएकाे छ।

उहाँले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको उल्लेख गर्नुभएकाे छ । प्रधामन्त्री देउवाले हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ ।

Facebook Comments