बरालको प्रतिवद्धताः आधा घण्टामा पालिका, हरेक घरमा राष्ट्रिय प्रशारण लाइन
गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन ।
संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आआफ्ना घोषणापत्र जनतासामु पुर्याएर मत फकाइरहेका छन् ।
कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
‘अहिले संघीयता काम छैन, प्रदेश संरचनाको औचित्य छैन भन्नेहरु बढेका छन् । हाम्रै कामका कारणले व्यवस्थाप्रति वितृष्णा बढेको हो,’ बरालले भन्नुभयाे, ‘अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ । विकास, शिक्षा, स्वास्थ्य सबै सुविधा प्रदेशबाटै पाउने गरी काम गरिने छ ।’
उहाँले आफ्नो निर्वाचन क्षेत्रका हरेक गाउँबाट आधा घण्टाभित्र पालिका केन्द्र पुग्न सक्ने गरी सडक संरचनाको स्तरोन्नती गर्ने बताउनुभयाे ।
‘घान्द्रुकबाट नाउँडाँडा आउने नागरिक आधा घण्टा भन्दा धेरै समय लाग्यो भने सेवा लिन समस्या भयो । राज्यको सेवा झन् जटिल बनाउने होइन,’ उहाँ भन्नुहुन्छ, ‘सेवा प्रवाह जति झण्झटिलो भयो, उति ब्यवस्था प्रति प्रश्न बढ्छ । यहाँका सडकलाई स्तरीय बनाएर आधा घण्टामा पालिका आइपुग्ने व्यवस्था मिलाइन्छ ।’
उहाँले नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोड देखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएकाे छ ।
बरालले आफ्नो निर्वाचन क्षेत्र जलविद्युत उत्पादनका हिसावले प्रभावकारी भएकोले लगानीको वातावरण सिर्जना गरी अधिकतम विद्युत उत्पादनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताउनुभयाे ।
साथै उहाँले आफ्नो क्षेत्रको होमस्टे पर्यटन, ग्रामिण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नतिमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।

