एमसीसीले सत्ता गठबन्धनमा हलचल
अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा सत्ता गठबन्धनभित्रै हलचल पैदा भएकाे छ । सरकारकाे नेतृत्वकर्ता नेपाली कांग्रेस एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा प्रष्ट देखिएकाे छ । तर गठबन्धनका अन्य दल एमसीसीकाे विपक्षमा देखिएका छन् । एमसीसीकै विषयमा छलफल गर्न आज दिउँसाे ३ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।
भाेली शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी पेश गर्ने सरकारकाे तयारी छ । सत्ता गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउने प्रयास स्वरूप आजकाे बैठक बस्न लागेकाे हाे ।
सरकारले बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेपनि माओवादी केन्द्रले यथास्थितिमा संसदमा एमसीसी पेश गर्न नसकिने अडान लिएपछि सरकार पछि हटेकाे थियाे ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटवार्तामा एमसीसीकै बिषयमा गठबन्धनको बैठकमा छलफल गर्ने सहमति भएको थियो । साेही सहमति बमाेजिम आज गठबन्धन बैठक बस्कोन लागेकाे हाे ।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने मात्र नभइ सरकार छाडेर सडक संघर्षमा लाग्ने चेतावनी दिएको छ । माओवादी केन्द्रले बुधबार पनि एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो ।
माओवादी केन्द्र मात्र नभइ माधव कुमार नेपाल नतृत्वकाे नेकपा एकीकृत समाजवादी पनि एमसीसीलाई संशोधन विना संसदमा लैजान नहुने अडानमा छ ।
जनता समाजवादी पार्टी (जसपा)भित्र एमसीसीबारे फरक फरक धारणा छ । सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ । प्रतिपक्षी एमालेले निर्वाचन नजिकै आएकाले एमसीसी पक्ष या विपक्षमा लाग्दा हुने फाइदा घाटा ताैलिरहेकाे छ । उसले एमसीसीकाे अपजस सत्ता गठबन्धनकै टाउकाेमा पराेस् भन्ने चाहिरहेकाे छ ।
पछिल्लाे समय अमेरिकी पक्षले समेत एमसीसी तत्काल पारित गर्न दबाव दिएकाे छ । नेपालमा एमसीसीकाे बिषयमा राजनीतिक दलमात्र नभइ जनमत समेत विभाजित अवस्थामा पुगेकाे छ । जसका कारण पछिल्ला दिनमा सामाजिक सञ्जालमा मात्र नभइ सडकमा समेत पक्ष र विपक्षमा प्रदर्शन भइरहेकाे छ ।

