कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा: मुख्यमन्त्री पाेखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएकाे छ ।

स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराउनुभएकाे हाे ।

रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि पाेखरेलेका प्रतिबद्धता छ । उहाँले भन्नुभयाे, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’
विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको पाेखरेलकाे भनाइ थियाे ।

कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ ।

त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने तयारी छ ।

Facebook Comments