आगामी वर्ष २०७९ को पात्रो तयार

आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्राे तयार पारेर विभिन्न १४ वटा पात्रो प्रकाशकलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएकाे ।

माघ १५ गते बजारमा ल्याउन समितिले स्वीकृति दिएकाे सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयाे ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्रश्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

आगामी वर्षमा विवाह र ब्रतबन्धको लगन भने अत्याधिक जुरेको छ । समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन छ । वैशाख र जेठ महीनामा त एकदिन बिराएर विवाहको लगन जुरेको सदस्य सचिव ढुंगेलले जानकारी दिनुभयाे ।

त्यस्तै, व्रतबन्धको लागि वैशाखमा व्रतबन्धको दुईवटा लगन, जेठमा २, असारमा २, मंसीरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।

यसैवीच समितिले पात्राे नक्कली प्रकाशन हुने गरेकाे भन्दै अनुगमन गरी कार्वाही गर्ने जनाएकाे छ । समितिको स्वीकृति विना प्रकाशित भएका सबै पात्रो र त्यसको प्रकाशक विरुद्ध कानूनी कारबाही अघि बढाउने समितिले जनाएको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र  खप्तड तारानाथ पञ्चाङ्ग पात्राे प्रकाशनका लागि अनुमति पाएका छन् ।

Facebook Comments