कान्तिपुर र नागरिक दैनिकमा पत्रकार महासंघले धर्ना लगायतका आन्दोलन गर्ने

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूमाथि अन्याय भएकाे भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ।

कान्तिपुर, नागरिक दैनिक लगायतका सञ्चार संस्थामा श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या देखिएकाे महासंघले जनाएकाे छ ।

सम्बन्धित सञ्चार गृहसँग पटकपटक पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएकाे महासंघले जनाएको छ।

कान्तिपुर टेलिभिजनको कार्यालयमा वैशाख ५ र ६ गते, नागरिक दैनिकको कार्यालयमा वैशाख ७ र ८ गते धर्ना दिने महासंघले जनाएकाे छ ।

महासंघले जारी गरेकाे विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, निष्कासित पत्रकारको पुनर्बहाली, पारिश्रमिक र सेवा सुविधाका लागि दबाब, कोभिडका कारण सञ्चार गृहले प्राप्त गरेका सहुलियतपूर्ण ऋणको अनुगमन र पारदर्शिताका लागि दबाब सिर्जना गर्न आन्दोलन कार्यक्रम घोषणा गरिएकाे उल्खेख छ ।

मिडिया अनुगमनका क्रममा जटिल समस्या देखिएका सञ्चार गृहविरूद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएकाे छ।

सञ्चार गृहमा नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिकसमेत नदिने र धेरैजसो सञ्चार गृहले स्ट्रिन्जरका नाममा सञ्चारकर्मीहरूलाई लामो समय काममा लगाउने तर पछि बिनाकारण हटाउने समस्या देखा परेको महासंघले उल्लेख गरेको छ।

महासंघले अब नीतिगत रूपमै सञ्चार गृहबाट स्ट्रिन्जर उन्मूलनलाई अभियानकै रूपमा लैजाने निष्कर्षमा पुगेको समेत जनाएकाे छ।

Facebook Comments